काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् ।
कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्किन र निष्क्रिय भएकाहरूलाई समेत सक्रिय हुन आग्रह गरेका छन् ।
कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्ति सक्रिय भएको उनले सुनाए ।
कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको पनि बताएका छन् । उनले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो पार्टीको आवश्यकता रहेको उल्लेख गरे ।
‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो’, उनले भने ।
हिजो जे कारणले छाडे पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किन कोइरालाले सबैलाई आग्रह गरे ।
‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौं’, उनले भने ।
कोइरालाले गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको पनि उनले बताए ।